Solutions to Backpain


उठ्नु न बस्नु बनाउँछ ढाडको दुखाइले

अर्जुन पौडेल


२५ देखि ५० प्रतिशत मानिस ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँघरमा गहौँ भारी बोक्नेलाई मात्र होइन, सहर-बजारमा कम्प्युटरमा काम गर्ने बैंक तथा वित्तीय संस्थामा काम गर्ने मानिस पनि ढाड दुख्ने समस्याबाट प्रभावित छन् ।

दुई वर्षदेखिको ढाड दुख्ने समस्याले थलिएका प्युठानका इन्द्रप्रसाद घिमिले निराश बनिसकेका थिए । स्थानीय स्वास्थ्य संस्थाबाट औषधोपचार पनि गरे धामी-झाँक्रीलाई पनि देखाए, तर उनको समस्या २० को १९ भएन । ढाडको दुखाइबाट सुरु भएको उनको समस्या खुट्टामा पनि सर्न लाग्यो । उठेर हिँड्डुल गर्न खोज्दा तातो सुइरोले उनको खुट्टामा घोचेजस्तो हुने र झमझमाउने गरेको उनले सुनाए ‘उठेर हिँड्डुल गर्न नसक्ने मात्रै होइन, ओल्टो-कोल्टो गर्दा पनि दुख्न थाल्यो,’ उनले भने, ‘काठमाडौंको डाक्टरलाई देखाएपछि नसा च्यापिएको थाहा भयो अप्रेसन नै गर्नुपर्‍यो ।’ उनलाई अहिले निको भएको छ । घिमिरेलाई मात्र होइन, ढाड दुख्ने समस्याबाट धेरै मानिस पीडित रहेको चिकित्सक बताउँछन् ।

नर्भिक अस्पतालमा कार्यरत न्युरो सर्जन डा. प्रबिन श्रेष्ठका अनुसार युवादेखि वृद्धवृद्धा गरी २५ देखि ५० प्रतिशत मानिस ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँ-घरमा गह्राँै भारी बोक्ने मानिसलाई मात्र होइन, सहर बजारमा कम्प्युटरमा काम गर्ने बंक तथा वित्तीय संस्थामा काम गर्ने मानिस पनि ढाड दुख्ने समस्याबाट प्रभावित रहेको उनले जानकारी दिए । तर, ढाड दुख्ने समस्या एउटै कारणले नहुने पनि उनले स्पष्ट पारे ।

एउटा कारण ढाडको हड्डी र मसल्स कमजोर भएर दुख्छ, दोस्रो मेरुदण्डको नसा च्यापिएर ढाड दुख्ने उनले सुनाए । ढाडको

समस्या लिएर अस्पताल आउने बिरामीमध्ये मांसपेशी र हड्डीको कमजोरीले बढी आउने गरेको चिकित्सक बताउँछन् । तर, नसा च्यापिएका कारण ढाड दुख्ने समस्या हुनेहरू पनि उत्तिकै रहेको उनले जानकारी दिए ।

सहरका आधुनिक मानिसहरू घन्टौँसम्म कुर्सीमा बसेर काम गर्छन् । कम्प्युटरमा काम गर्ने, बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरू घन्टौँसम्म एउटै आशनमा बसेर काम गर्ने गर्छन् । त्यसले गर्दा ढाडको मांसपेशी कमजोर हुन्छ र ढाड दुख्ने समस्या आउँछ । एउटै पोजिसनमा काम गर्नेले पनि घन्टौँसम्म

बसिरहनुहुन्न । ‘म त्यस्ता मानिसलाई आफ्नै उदाहरण दिएर सम्झाउने गर्छु,’ श्रेष्ठले भने, ‘म पनि कुर्सीमा बसेर काम गर्छु, तर म १५ मिनेटमा एकपटक उठ्छु र दुई/तीन मिनेट उठेकै हुन्छु, तपाइर्ं पनि त्यही गर्नूस् भनेर सम्झाउँछु ।’

गाउँ-घरका मानिस टाउकोमा भारी बोक्छन्, जसको भार ढाडमा पर्छ । त्यसले गर्दा मांसपेशी कमजोर हुन्छ र दुख्न थाल्छ । ढाड दुख्यो भनेर सहरका मानिस बेल्ट कस्छन् । गाउँकाले पटुका कस्ने गर्छन् । मांसपेशी कमजोर भएर ढाड दुखेको छ भने दुई/चार दिन आराम गरेपछि निको हुन्छ । मसल्स कमजोर हुन थालेपछि मसल्स कडा हुँदै जान्छ । मसल्स जति कडा हुन्छ, त्यत्ति नै दुख्छ । ‘त्यसबाट छुट्कारा पाउन आराम गर्नुपर्छ दुई/तीन दिन मजाले आराम गरियो भने बिस्तारै मसल्स खुकुलो हुँदै आउँछ,’ उनले भने ।

त्यस्तै, शरीरको तौलको कारण पनि ढाड दुख्छ । शरीरको तौल बढी हुनेहरूमा यो समस्या बढी हुन्छ । विशेषतः एक/दुईवटा बच्चा जन्माएका महिलामा यो समस्या धेरै छ । ढाड शरीरको मेरुदण्ड हो । उमेर बढ्दै जाँदा मेरुदण्डको हड्डी खिइन थाल्छ, कमजोर हुन्छ । बढ्दो भार कमजोर हड्डीले धान्न सक्दैन । त्यसैले तौल कम गर्नतर्फ लाग्नुपर्छ ।

नसाका कारण हुने ढाडको दुखाइ दुई/तीन खालको हुन्छ । एकथरी ढाड मात्रै दुख्छ । अर्को ढाडसँगै खुट्टा पनि दुख्छ । नसा च्यापिएको हो, नसामा खराबी छ भने दुखाइ ढाडमा मात्र सीमित नभएर शरीरको अन्यत्र पनि सर्छ । कम्मरतिर हो भने खुट्टातिर सर्छ माथितिर भए हाततिर सर्छ । त्यस्तोमा हात-खुट्टा दुख्ने र झमझमाउने पनि गर्छ । नसा च्यापिएर ढाडसँगै हातखुट्टा पनि दुख्ने समस्या अझ बढी छ । अर्को ढाडमा नसाको ट्युमर पलाएर वा नसामा चोट लागेर पनि ढाड मात्रै दुखिरहेको हुन सक्छ । ढाडको दुखाइबाट पीडितमध्ये २२ प्रतिशतमा दुखाइ खप्नै नसक्ने खालको हुने अध्ययनले देखाएको छ ।

नसा च्यापिएर ढाड दुखेको छ भने पनि सुरुको अवस्थामा त्यत्ति खतरापूर्ण हुँदैन । तर, केही गर्दा पनि भएन भने शल्यक्रिया नै गर्नुपर्छ । तर, शल्यक्रिया अन्तिम उपायका रूपमा गरिन्छ । सुरुमा त आराम नै गर्नुपर्छ । औषधि सेवन गर्ने, तेस्रो फिजियोथेरापीबाट पनि कम गरिन्छ । शारीरिक अभ्यासबाट पनि समस्या कम हुने चिकित्सक बताउँछन् ।

ढाडको नसा मुख्यतः उमेरका कारण च्यापिन्छ । ४० वर्षबाट माथि लागेपछि हड्डी खिइन थाल्छ । हड्डीभित्र नसा हुन्छ । हड्डी खिइन थालेपछि नसा बस्ने प्वाल साँघुरो हुन थाल्छ । उमेर बढ्दै गएपछि हड्डी निरन्तर खिइने हुँदा नसा च्यापिन्छ । स्वतन्त्र रूपमा बस्नुपर्ने नसा च्यापिएपछि ढाड दुख्ने खुट्टा र हात पनि नचल्ने हुन थाल्छ । कहिलेकाहीँ अति दुख्छ । यतिसम्म कि सुत्न/उठ्न पनि नसक्ने हुन्छ । ‘सुत्यो भने सुतेको सुत्यै, ओल्टो-कोल्टो फेर्न पनि नसक्ने अवस्थामा पुगिन्छ,’ श्रेष्ठले भने, ‘त्यस्तोमा तत्काल एमआरआई गरिन्छ, खराबी देखियो भने अप्रेसन गरिहाल्छौँ ।’ केही गर्दा पनि भएन र समस्या बढ्दै गए थप परीक्षणको आवश्यकता हुन्छ । नसा च्यापिएर असर नै गरेको छ भने अन्तिममा शल्यक्रिया गर्नुपर्छ । गाउँघरतिर बस्ने र शारीरिक काम गर्नेमा ढाड दुखे गह्रौँ भारी बोक्न छाडेर आराम गर्नुपर्छ तीन/चार दिनमा निको भइहाल्छ । ठूलो भारी नबोक्ने, निहुरेर भारी नबोक्ने । सम्भव भए साधारण औषधि खाने । विस्तारै कम हुँदै गयो खुट्टामा सरेन भने त्यो मसल्सको कमजोरीले गर्दा दुख्यो भनेर बुझ्नुपर्छ । एक सातापछि ठीक हुन्छ । अति नै दुख्यो, दुखाइ खुट्टा र हातमा पनि सर्न लाग्यो भने चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

तत्काल चिकित्सकलाई देखाउन नसके पनि नआत्तिनुहोस् ठूलै असर भने गर्दैन । उमेरअनुसार हड्डी खिएकोलाई उपचार गरेर पनि कम हुँदैन । उमेरअनुसार सबैको हड्डी खिइन्छ । कसैको अलि बढी खिइन्छ कसैको कम । समस्या बढी भए त्यहीअनुसार उपचार गर्नुपर्छ ।

फिजियोथेरापीले पनि मसल्स कमजोर भएर हुने ढाडको दुखाइलाई कम गर्छ। चिकित्सकले पनि बिरामीलाई मालिसको तरिका सिकाएर पठाउने गर्छन् । तर, डाक्टरले सिकाएअनुसार मालिस गर्नुपर्ने चिकित्सक श्रेष्ठको भनाइ छ।

(नयाँ पत्रिकाको अनलाइन भर्जनबाट साभार टिपिएको)

~ by wienmandu on May 15, 2010.

One Response to “Solutions to Backpain”

  1. I have the problem of back pain…k garnu parla mero soldier side ek dam duk6 basna pani garo hun6.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: