धन्यवाद लक्ष्मण गाम्नागे जी


साँझपख, भीम जीको नयाँ खुलेको रेस्टुरांबाट फर्किएर घर पुग्दा अलि-अलि थकाई नि लागेको थियो। अनि कम्प्युटरमा एस्सो समाचार के रैछन् भनी कान्तिपुर अनलाईन हेर्दा जिल्ल परें। कहीं कनिष्ठले प्रहरीले आफ्नै वरिष्ठलाई बन्धक बनाएको, राजनीतिक दाउपेच, संसदीय अंकगणित, YCL vs Youth Force, कतै खान नपाएको भने कहीं स्कूल शुरु भएको महिनौंसम्म किताबहरुको आपूर्ति नभएको इत्यादि पढ्दा मन अमिलो भयो।

आफुलाई छिट्टो निद्रा नपर्ने भएकोले फेरी अझै भित्र छिरेर नेपाल पाक्षिक पनि पढ्न मन भयो। अनि त्यहाँ लक्ष्मण गाम्नागे जीको एउटा आलेखमा आँखा अड्कियो – “बाहुनडाँडादेखि चिहानडाँडासम्म” । पढेको त हामी मध्ये अधिकाँश नेपालीको मानसिकता, नेपाली कार्यप्रणाली, समसामयिक वस्तुस्थिती, राजनीति र त्यसको सयौं बर्षको इतिहास संक्षेपमा राखिएको पाएँ। घत लाग्यो। यो आलेख नेपाल कै साईटमा यस पेजमा पनि पढ्न सक्नुहुनेछ। नेपालबाट साभार गरिएको यो लेख पढ्नुस् अनि तपाईंहरुलाई कस्तो लाग्यो भन्नुस् ल।

 
अमेरिकी युवक जोन उड माइक्रोसफ्ट कम्पनीमा उच्च तहमा जागिर खान्थ्यो । त्यो बिजुलीजस्तो मान्छे वासिङ्टनमा खाना खाएर टोकियोमा चुठ्न पुग्थ्यो । मस्कोमा दाँत माझेर बेइजिङ्मा कुल्ला गर्न पुग्थ्यो । भौतिक सुखसुविधाका लागि ऊ संसारका सबै सुखसयल प्राप्त गर्न सक्षम थियो । यति हुँदा पनि उसको मन असन्तोष र छटपटीले बेचैन थियो । यही असन्तुष्टि र छटपटीका बीच एकदिन उसले जागिर छाड्यो, प्रेमिका छाड्यो र भौतिक सुखसुविधाका सम्पूर्ण स्रोतहरूलाई लात्तीले हानेर नेपालको बाहुनडाँडा भन्ने गरबि गाउँतिर लाग्यो । किंवदन्तीको पात्रजस्तो लाग्ने संसारकै सबभन्दा धनी व्यापारी विल गेट्ससँग कुम जोरेर माइक्रोसफ्ट कम्पनीको अन्तर्राष्‍ट्रिय व्यापारका बारेमा आफ्ना धारिला योजनाहरू प्रस्तुत गर्ने त्यो युवक नेपालका बाहुनडाँडा, कामीडाँडा र सार्कीडाँडाहरूका धुलाम्मे स्कुलका सिँगाने केटाकेटीहरूसँग अङ्कमाल गर्न पुग्यो । 
जोन उडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तकको यो प्रारम्भिक कथा पढ्नासाथै मेरा मनमा अनेक तरङ्गहरू उठ्न थाले । मलाई लाग्यो, त्यो जोन उड भन्ने सात समुद्रपारिको कुइरे युवक गधा र चौँरीका डँडाल्नामा पुस्तकको थाक राखेर हाम्रो देशको गाउँका केटाकेटीलाई शिक्षित बनाउन उकालोतिर चढ्छ, हामी गधाहरू भने राष्ट्रिय ढुकुटीबाट टन्न दाना खान्छौँ र उन्मत्त हुँदै सिंहदरबार र बालुवाटारका चौरमा एकअर्कालाई जोर लात्तीले हानेर लडाउन प्रयास गर्र्छौं ।
हामी गधाहरू पढाइ सुरु भएको छ महिनासम्म सरकारी पैसाले छाप्ने किताब स्कुलमा पुर्‍याउन सक्तैनौँ, ऊ भने संसारभरिबाट निःशुल्क पुस्तक भेला पारेर नेपालका गाउँगाउँमा पुर्‍याउँछ । हामी गधाहरू कुर्सीमा टाँसिएको टाँसिएकै नर्क जान तयार हुन्छौँ, ऊ भने छँदाखाँदाको पद, पैसा, प्रेमिका, साथीभाइ, नातागोता सबै त्यागेर हाम्रो गाउँका केटाकेटीको शिक्षाका लागि संसारभरि भीख माग्दै हिँड्छ । हामी गधाहरू गरबि र र्सवहारावर्गको नेतृत्व गर्र्छौं भन्दै पजेरो र मर्सिडिजमा बालुवाटार र सिंहदरबारको फेरो मार्र्छौं, ऊ भने दमाईडाँडाका गन्धे केटाकेटीका सिँगान पुछ्दै पहाडहरूको चक्कर मार्छ । ऊ अशिक्षा, गरिबी, भोक र रोगको चिहानमा फँसेका बालबालिकालाई जगाउन खोज्छ, हामी गधाहरू ती सप्पैलाई घिसारेर सिङ्गै देशलाई चिहानघारीमा पुर्‍याउन चाहन्छौँ । हामी गधाहरू देशलाई पुर्न सिंहदरबार वा बालुवाटार वा बल्खु वा सानेपा वा मधेस वा पहाडमा चिहान खन्छौँ र सिङ्गै वा टुक्र्याएर भए पनि देशलाई पुर्न चाहन्छौँ । देशलाई चिहानघारी बनाएर राज्य गर्न चाहन्छौँ । हामी चिहानघारीका राजाहरूका लागि बाहुनडाँडाजस्ता डाँडाकाँडाका झुत्रे र भोका केटाकेटीहरू चुनावी घोषणापत्रका लाभदायक पात्रहरू मात्रै हुन् । 
वास्तवमा हामी हुँदाहुँदै सात समुद्रपारिको कुइरे आएर हाम्रो बाहुनडाँडामा पुस्तकालय खोल्नुमा पक्कै पनि विदेशी षड्यन्त्र हुनुपर्छ । हामी अग्रगामी गधाहरूका विचारमा त्यो जोन उड भन्नेलाई नेपाल आउन दिनुहुँदैन । किनभने, उसले बाहुनडाँडाबाट काम थालेको छ र पुस्तकको नाममा पनि बाहुनडाँडा छ । समावेशी लोकतन्त्रमा ‘बाहुनडाँडा’ भन्ने नाम प्रतिगामी हो । हामी सबै मिलेर त्यो कुइरेले बाहुनडाँडामा ल्याएर छाडेको शिक्षाको बत्तीलाई चिहानडाँडामा पुर्‍याएर निभाइदिनुपर्छ र नयाँ एवम् मौलिक एउटा पुस्तक लेख्‍नुपर्छ, बाहुनडाँडादेखि चिहानडाँडासम्म ।

Advertisements

~ by wienmandu on July 14, 2008.

One Response to “धन्यवाद लक्ष्मण गाम्नागे जी”

  1. […] Read More धन्यवाद लक्ष्मण गाम्नागे जी […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: